नेवार समुदाय माथि खस-बाहुन शासक वर्गको अत्याचार

– सौरभ शाक्य

नेवार समुदाय माथि देखिने र नदेखिने गरी खस-बाहुन शासक वर्गले अत्याचार गरेको धेरै भइ सक्यो । तिनको अत्याचारको पिडा त अब नेवारले महशुस गर्न पनि बिर्सी सकेको छ । केहि त्यस्ता पीडाहरु यहाँ म उल्लेख गर्न चाहन्छु ।

१) पृथ्वीनारायणले उपत्यका कब्जा गरेपछि यहाँ हुने सबै निर्माण कार्यमाथि प्रतिबन्ध लगाइयो । नयाँ घर, पाटी, पौवा,… ढुंगेधारा, पोखरी, मन्दीर बनाउनु त परै जाओस, पुराना संरचनालाइ जिर्णोद्दार गर्न समेत दिइएन । फलस्वरुप उपत्यकाका आदिवासि नेवार नकर्मी, सिकर्मी, डकर्मी, ढुंगाकर्मी, र निर्माण सामाग्री ब्यपारीहरु सबै बेरोजगार बन्न पुगे । लुकिछिपि निर्माण कार्य गर्नेलाइ पक्रेर सिधै मृत्युदण्ड दिने वा चारकोसे झाडीमा लगेर छोड्ने सँजाय दिइयो । एक-परिवार-एक-रोजगारीको सामाजिक ब्यबस्थामा बाँधिएको तात्कालिन समाजको एउटा ठूलो तप्का बैकल्पिक ब्यबसाय अँगाल्न समेत नपाउँदा गरीविमा पिल्सिँदै रुँदै रुँदै उपत्यका परित्याग गर्न बाध्य भए । के आजका नेवार पुस्ताले ती बाध्यात्मक बेरोजगारीमा पिल्सिएर थातथलो छोड्नु परेको परित्यक्त नेवारको पीडा अझै महशुस गर्न सकेका छन?

२) रणबहादुरशाहको पालामा हज्जारौ नेवारहरुलाइ उपत्यकाबाट निष्कासित गरियो । त्यो घटना उपत्यकाका नेवारहरु बिरुद्ध एउटा ठूलो षडयन्त्र थियो । शहरमा रहेका अन्य बालबालिकालाइ बिफर लाग्यो भने त्यो सरुवा रोग तुरुन्तै दरवारमा पनि लाग्ने र राजाका छोरा राजकुमारलाइ बिफर लागेर मर्न सक्ने भय उनका चाटुकार बैद्यहरुको मद्दतद्वारा देखाइयो । समाधान दिने नाममा खस-बाहुन र केहि सम्भ्रान्त नेवार चाटुकारहरुले ती बालबालिकालाइ उपत्यका बाहिर लग्यो भने राजकुमारलाइ बिफर लाग्दैन भनिदियो । फलस्वरुप रणबहादुर शाहले सबै बालबालिकालाइ निष्कासित गर्ने आदेश दिए । रोगी मात्रै हैन निरोगि बालबालिका र तिनका पितामाता समेत हज्जारौ हज्जार नेवारहरु आफ्ना लालाबाला च्यापेर निष्काशीत हुनु पर्यो । अबोध शिशुका साथ खाने बस्ने ठेगाना नभएका निस्काशीत ती दु:खी नेवारहरु मध्य कति बाटाबाटैमा मरे, कति कुनै खोलाको किनारतिर शरणार्थि बनेर बस्न थाले । के आजका नेवार पुस्ताले ती बिनाकसुर निस्कासित नेवारको पीडा अझै महशुस गर्न सकेका छन?

३) राणा शासनमा जंगबहादुरको पाला देखि शुरु भएर मोहनशमसेर र बबरशमसेरको पालासम्म पनि बिद्यमान ठूला ठूला भव्य महल बनाउने प्रतिस्पर्धा थियो । हालको सिंहदरवार देखि लिएर अधिकांश सरकारी कार्यालयहरु रहेको राणाकालिन दरवारहरु त्यहि प्रतिस्पर्धाको चिनो हो । ती दरवार बनाउन प्राय जसो गुथिको जग्गा तथा केहि निजि जग्गाहरु प्रयोग भएको थियो । ती सबै जग्गाहरु नेवारहरुको थियो, जसलाइ कि त राणाले लुटे, कि त राणाले अत्यन्तै थोरै दाम तिरेर जबरजस्ति हत्याए । त्यतिमात्र हो र ? दरवार निर्माण क्रममा उपत्यकाका बस्तिबस्तिमा रहेका नेवारहरुलाइ उठाएर ल्याए सित्तैमा श्रम गर्न लगाए । आफ्नो जग्गा गुमाएर, आफ्नो श्रम निशुल्क दान दिएर राणाहरुको सेवा अनिच्छापूर्वक गर्नु परेको पीडा के आजका नेवार पुस्ताले महशुस गर्न सकेका छन? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आइसकेको बेला ती नेवार श्री सम्पत्तिमा बनेका धरोहर नेवारले फिर्ता माग्नु पर्छ भन्ने चेत खुलेको छ ?

४) राणा शाह शासनकालमा नेवार चेलिबेटीमाथि भयंकर अत्याचार थोपरिएको थियो । घरघरबाट जबरजस्ति लुटेर, अपहरण गरेर, खोसेर लग्दै दरबारमा यौनदासीको रुपमा आजीवन बन्दी बनाइएका सयौ हज्जारौ नेवार चेलीका पीडायुक्त कहानीहरु अझै पनि घरघरमा सुनाइन्छ । आफ्ना छोरीमाथि जबरजस्ति हुँदा, बलात्कार हुँदा पनि असहाय भै चुपचाप बस्नु परेका नेवार आमा-बुबाका पीडा आजको नेवार पुस्ताले महशुस गरेको छ? राजाका सेना गल्ली गल्लीमा राम्री केटी खोज्न निस्केको चाल पाउँदा तरुनी बैंस लागेका छोरी बुहारीलाइ देख्ला भनेर लुकाउन भागदौड गर्नु परेको पीडा महशुस गरेको छ? राम्री तरुनी खोसेर ल्याइ दरबारमा बुझाइ बक्सिस, तक्मा र पदोन्नति पाउने लोभमा अबोध नारी र तिनका परिवार बाबु आमालाइ धुरुधुरु रुवाएर समाजको अगाडि लछारपछार पार्दै दरबार लगिएका नेवार चेलीहरुको चित्कार र पिडा महशुस गर्न सकेको छ? सम्झिनुस त कति नेवारहरु यस्तै पीडा बीच नर्क तुल्य जीवन जिउन बाध्य भए?

५) त्रिभुवन शाहले उनको किर्ति राख्ने रहरमा विश्वबिद्यालय बनाउन किर्तिपुर र पांगा क्षेत्रका हज्जारौ रोपनी खेतियोग्य जमीन खोस्ने प्रपञ्च रचे । जग्गाको मुआव्जा दिइने, बैकल्पिक रोजगारी दिइने आदि जस्ता आश्वासन दिएर लोभ र धम्किको भरमा जमीन हासिल गरे । आफ्नो जग्गा लुटेको टुलुटुलु हेरेर बस्नु परेका नेवारहरुको पीडा अझै महशुस हुन्छ? ती दु:खि नेवारसित न मुआब्जा छ, न रोजगारी छ, छ त केवल भविष्यका पुस्तालाइ सुनाउने दु:खि कहानी छ, पीडा छ, धोखाबाजिको कथा छ । देशमा नाम चलेको बिश्वबिद्यालय र केन्द्रीय क्याम्पस आफ्नै जग्गामा शानले ठडिएको छ तर आफ्नो कुनै अस्तित्व छैन, हक छैन, रोजगारी पनि छैन । के यो पीडा आजको नेवार पुस्ताले महशुस गरेको छ?

६) महेन्द्रको पालामा गुठिको जग्गालाइ सरकारी दस्तूर तिरेर रैकर बनाउने र किनबेच गर्न मिल्ने बनाइयो । त्यसअगाडि गुठिको जग्गा किनबेच गर्न निकै झण्झटिलो कानुनी र सामाजिक नियमहरु थियो । यसरी सजिलै बेच्न मिल्ने बनाएपछि नेवारहरु धनको लोभमा अन्धो हुँदै धमाधम गुठिको जग्गा बेच्न थाले । ती गुठिका जग्गा बेचेर गुठियारहरुको हातमा क्षणिक सम्पत्ति हात लागेपनि पछि गएर त्यहि कदम नेवार सभ्यताको किर्ती नाश हुने प्रमुख कारक बन्यो । किर्ती बचाउने जिम्मा लिएको गुठीसंस्थान निकम्मा हुन थाल्यो, नेवारहरुले आफ्नो नीजि स्रोतबाट संस्कृति धान्नु पर्ने अवस्थामा आइपु्ग्यो । हज्जारौ हज्जार रोपनी जग्गाका धनी सम्पदाका धरोहरहरु सामान्य मर्मत संम्भारको निमित्त पनि भीख माग्नु पर्ने दरिद्रतामा पुग्न थाल्यो । के सम्पदा नष्ट हुने यो क्रम शुरुवात र संस्थागत गर्दा हुन पुगेको नोक्सानीको पीडा आजको नेवारले महशुस गरेको छ ?

७) महेन्द्र – बिरेन्द्रको पालामा भिषण भासा-दमन चर्काएर सबै ठाउँमा नेवारहरुलाइ पछाडि पार्ने, निस्कासित गर्ने र नेवारहरुको परम्परागत पकडलाइ समुल नष्ट गर्ने योजनाबद्ध कार्य हुन थाल्यो । त्यस्ता कार्यको शिकार भएका नेवारहरुको पीडा आजको नेवार पुस्ताले महशुस गर्न सकेको छ? आज नयाँ नेवार पुस्ता आफ्नो भाषा संस्कृति प्रति अचेत छ, उदासिन छ, नेवार हुनुमा गर्व भन्दा लज्जा महशुस गर्दछ, आफ्नै आदिभुमिमा नेवार भएर शीर ठाडो पार्न तिनलाइ उकुसमुकुस हुन थालेको छ र यो पीडा अझै चर्कँदो छ, के यसको असर भविष्यमा कति महँगो हुनेछ महशुस भएको छ ?

८) बहुदलकाल र गणतन्त्रकालमा हुलका हुल आप्रवासी र सुकुम्बासीहरु नेवार आदिभुमिमा भित्रिदा आज उपत्यकामा नै नेवारहरु कहाँ कहाँ बाँकि छन भनेर खोजि गर्नु अवस्था आउन थालेको छ । सामान्य प्रशासनिक कार्यको सिफारिस लिन वडा कार्यालय जाँदा परिचित अनुहारहरु भेट्टिन मुश्किल पर्न थालिसकेको छ । सिफारिस भनेको नै आफ्नो टोलछिमेकका जिम्मेवार पदाधिकारीको सहयोगमा हुनु पर्ने हो, तर कहाँ कहाँबाट भित्रिएका हाकिम भनाउँदा अपरिचित ब्यक्तिहरु “तिम्रो बुबा फलाना हुन, तिम्रा आमा फलाना हुन” भनेर नाताप्रमाणित गर्न सहि धस्काउने थालेका छन । आफ्नै आमा बुवा छोरा छोरी प्रमाणित गराउन पनि अपरिचित कारिन्दाको सहयोग लिनु परेको छ, चिन्दै नचिनेको मानिसको सामु ङिच्च दाँत देखाएर “नमस्ते हजुर” भनेर दश अम्ला जोड्न परेको छ । के यस्तो अवस्थाले मनमा घोच्दैन?

यसरी देखिने वा नदेखिने तरीका उपत्यकाका नेवारहरुमाथि पीडा थप्ने थोपरिने क्रम निरन्तर जारी छ । तर होश पुगेको देखिन्न । नयाँ पुस्ता त झन मदहोस छ। निस्फिक्रि छ । यदि समय छँदै होश पुराएर योजनाबद्ध पुनर्जागरण गर्न सकेन भने नेवारहरुको समूल नाश अवश्यंभावि छ । बेलैमा चेतना भया ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *